What is asthma?

बच्चालाई दम पुष्टी भइसकेपछी बच्चाको आमाबुवालाई थुप्रै क्रमबद्ध प्रश्नहरुले सताउन थाल्छ — मेरै बच्चालाई किन? के मेरो बच्चा सामान्य तरिकाले हुर्कन सक्छ? के मेरो बच्चाले उसले चाहे अनुसारको मनपर्ने खेल खेल्न सक्छ?

तर दम लाग्दैमा चिन्ता लिनु पर्ने आवश्यकता छैन । तपाईंले आफ्नो बच्चालाई लागेको दमको समस्या, लक्षण, असर पुर्याउने कारक र उपचारको बारेमा पुरा जानकारी लिनु भयो भने तपाईंले आफ्नो बच्चालाई लागेको दम सजिलै सँग नियन्त्रणमा राख्न सक्नुहुन्छ र तपाईंको बच्चाले स्वस्थ्य र सामान्य जीवन बिताउन सक्छ । विश्व स्वस्थ्य संगठनका अनुसार बच्चाहरुलाई हुने सास फेर्ने समस्यामा सबै भन्दा बढि लाग्ने रोग दम हो । संसारमा लाखौं बच्चाहरुलाई दमको समस्या छ र त्यसलाई उनीहरु राम्रोसँग व्यवस्थापन गरिरहेका छन् । त्यसैले तपाईं यसमा एक्लो हुनुहुन्न् । सबैको बुझाई विपरित, बच्चामा लाग्ने दम र वयस्कमा लाग्ने दम एउटै होइन। जबकि वयस्कमा देखा पर्ने दममा सास फेर्न गाह्रो हुने, घ्याँर–घ्याँर हुने, खोकी र छातीको जकडन जस्ता केही आधारभूत लक्षणहरू देखिन्छन् तर यो बच्चामा नदेखिने हुनसक्छ । दम लागेका बच्चामा देखिने प्रमुख लक्षण खोकी हो । ३–४ हप्ता सम्म लगातार खोकी लाग्नु बच्चालाई दम भएको सूचक हुनसक्छ ।

यो बुझ्न जरुरी छ कि उचित उपचार र व्यवस्थापनले पूर्णरुपमा दम नियन्त्रण गर्न सकिन्छ यसको मतलब तपाईं को बच्चाले चाहेको सबै कार्यहरु गर्न सक्छन् । दमको उचित व्यवस्थापन गर्न सकिन्छ त्यसैले तपाईंको बच्चालाई लागेको दम बारे चिन्तित हुनु अनावश्यक छ ।

तपाइँको बच्चालाई दम लागेको छ भने यी कुरामा ध्यान दिन आवश्यक छ ।

  • आफ्नो बच्चाको दमलाई असर पुर्याउने कारक पहिचान गर्नुहोस् र त्यसबाट बच्चालाई टाढा राख्नुहोस् ।
  • आफ्नो बच्चाको लक्षणहरुलाई कसरी व्यवस्थापन गर्नेबारे बाल विशेषयज्ञसँग परामर्श लिनुहोस् ।
  • आफ्नो बच्चाको लागि बनाइएको दम कार्ययोजना पालना गर्नुहोस् ।
  • इन्हेलेर (Inhaler) र अन्य औषधीको सही प्रयोगबारे सिक्नुहोस् र आफ्नो बच्चालाई पनि सिकाउनुहोस् ।
  • कन्ट्रोलर (Controller) र रिलिभर (Reliever) औषधीहरुमा चिन्ह (Label) लगाउनुहोस् ताकि गल्ती नहोस् ।
  • तपाइँको बच्चा स्कूल, पार्क वा कुनै भ्रमण वा जता गएपनी, सधैं रिलिभर (Reliever) औषधी आफुसँग राख्न लगाउनुहोस् ।
  • दम बारे सरल र बुझ्ने भाषामा तपाईंले आफ्नो बच्चालाई सम्झाउनुहोस् । इन्हेलर्सले बच्चालाई कसरी मद्दत गर्दछ र दमसँग सम्बन्धित आपतकालबाट कसरी बच्न सकिन्छ भनेर बुझाउनाले पनि उसलाई सहयोग पुग्दछ ।
  • दमको आक्रमण (Asthma Attack) भएको बेला, बच्चालाई शान्त रहन र तिमी चाँडै निको हुन्छौ भनेर आस्श्वासन दिनुहोस् । यसो गर्दा गर्दै चिकित्सकद्वारा दिईएको आकस्मिक उपचार निर्देशनहरुको पालना गर्नुहोस् ।
  • बच्चाको दम कार्ययोजना बारे परिवारका सदस्य, हेरचाह गर्ने व्यक्ति र स्कूललाई जानकारी दिनुहोस् र सँगै आपतकालिन सम्पर्क नम्बर प्रदान गर्नुहोस् ।
  • तपाइँको बच्चालाई बच्चा हुनबाट नरोक्नु सबै भन्दा महत्त्वपूर्ण कुरा हो । यदि तपाईंको बच्चालाई नाच्न, खेल्न, पौडीन वा अन्य मार्शल आर्टका खेलहरु खेल्न मन भए उसलाई त्यो गर्न दिनुहोस् । तपाईंको बच्चालाई दम छ भन्दैमा यसको मतलब यो होइन कि उसले अरु साधारण बच्चाझै आफ्नो बालपन मनोरन्जनात्मक ढङ्गमा बिताउन सक्दैन ।